यी हुन आईसीसीले छानेका विश्वका टप टेन क्रिकेटरहरु, रशिद खान अफगानिस्तान देखि सन्दिप लामिछाने नेपाल सम्म को परे (सुचिसहित)

एजेन्सी । यही फागुन २० गतेदेखि जिम्बाबेमा आईसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगिता हुँदैछ । चार टेष्ट राष्ट्रसहित १० टिमको सहभागिता रहेको यो प्रतियोगिता विश्वकप भन्दा कम छैन ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न लागेका खेलाडीमध्ये १० उत्कृष्ट खेलाडी छनोट गरेको छ । १० खेलाडीमा नेपालका सन्दीप लामिछाने पनि परेका छन् ।

रोभमन पवेल (वेष्ट इन्डिज) :अहिलेसम्म १७ एक दिवसीय खेल खेलिसकेका खेलाडी हुन् उनी । श्रीलंकाविरुद्ध डेब्यु गरेदेखि नै चर्चामा रहेका २४ वर्षीय पवेल अझै आफ्नो क्षमता प्रदर्शन गर्ने क्रममा रहेका छन् । अन्द्रे रसेलको अनुपस्थितिमा पावेलले उनको स्थान लिने पक्का भइसकेको छ । उनको जोडदार ब्याटिङ पछिल्लो समय क्यारेवियन प्रिमियर लिगमा देखिएको थियो ।
अलराउण्डर पवेलको बलिङ क्षमता पनि त्यत्तिकै राम्रो छ । यद्यपि अलराउण्डर कार्लोस ब्रेथवेइट, केमार रोच, जेसन होल्डर र केश्रीक विलियम्सले भएकाले उनलाई बलिङको अवसर प्राप्त हुने सम्भावना कम रहेको बताइन्छ । तर पनि आवश्यक परेमा क्याप्टेन होल्डरले उनलाई पूर्ण विश्वासका साथ मैदानमा बलिङ गर्न दिनेछन् ।

सन्दीप लामिछाने (नेपाल): १७ वर्षको उमेरमै सन्दीप सेलिब्रेटी बनिसकेका छन् । लेग स्पिनरका रुपमा प्रतिभाशाली प्रस्तुति देखाएका सन्दीप इन्डियन प्रिमियर लिग (आईपीएल) मा पर्ने पहिलो नेपाली खेलाडी हुन् । उनी आईपीएलको दिल्ली डेयरडेभिल्समा आबद्ध भएको खबरले नेपालभर सनसनी मच्चिएको थियो भने तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले समेत ट्वीट गर्दै उनीमाथि सारा नेपालीले गर्व गरेको कुरा उल्लेख गरेका थिए ।
उनको नियन्त्रण, ट्रिक र बलियो टर्न गर्न सक्ने क्षमताले उनलाई खतरनाक बलर साबित गराइसकेको छ । त्यसकारण नेपालले आफ्नो समूह बी मा प्रभाव जमाउनका लागि यी युवा खेलाडीले पनि आफ्नो क्षमता प्रदर्शन गर्नैपर्ने हुन्छ ।

पल स्टर्लिङ (आयरल्याण्ड): स्टर्लिङले क्वालिफायरमै आफूलाई सबैभन्दा उत्कृष्ट ब्याट्सम्यानका रुपमा चिनाइसकेका छन् । खतरनाक ब्याट्सम्यानको रुपमा परिचित उनलाई जस्तोसुकै कसिलो बलिङलाई पनि नियन्त्रणमा लिन सक्ने खेलाडी मानिन्छ । त्यसैले मैदानमा उनको शक्तिलाई हेर्दा स्कोर गर्न उनीसँग थुप्रै मौका हुने बताइन्छ ।
उनले ९१ एक दिवसीय खेलमा ६ शतक प्रहार गरेका छन् भने १५ अर्धशतक बनाएका छन् । त्यस्तै, उनको स्ट्राइक रेट ९०.८७ छ भने एभरेज ३४.८० रहेको छ ।
निकै सशक्त प्रदर्शन गर्ने गरेका स्टर्लिङ विपक्षीको नजरमा अत्यन्तै शक्तिशाली र खतरनाक खेलाडी मानिने गरेका छन् ।

राशिद खान (अफगानिस्तान) :राशिद खान यस्ता खेलाडी हुन्, जसले छोटो समयमा नै स्टार खेलाडी तथा बलरलाई पछि पार्दै आईसीसीको टि–ट्वान्टी विश्व बरियतामा शीर्ष स्थान ओगटेका छन् । उनी एक दिवसीय बरियतामा पनि दोस्रो स्थानमा छन् । यसले पनि के प्रमाणित गर्छ भने उनी विश्वकै एक प्रभावशाली खेलाडी हुन् ।
सर्वाधिक लोकप्रिय मानिने आईपीएलमा समेत तहल्का पिटेका राशिद जिम्बावेसँगको सिरिज आफ्नो टिमलाई दिलाउन पनि निकै महत्वपूर्ण भूमिका खेलेका थिए । राशिद अझै पनि थुप्रै ब्याट्सम्यानहरुका लागि रहस्यमय नै मानिने गरेका छन् । उनको लेगब्रेक विपक्षी खेलाडीका लागि अत्यन्तै खतरनाक साबित हुने गरेको छ । त्यसकारण जिम्बावेका ब्याट्सम्यानहरुले उनीमाथि निकै कडा नजर राखेको हुनुपर्छ ।

कायल कोएट्जर (स्कटल्याण्ड) :स्कटल्याण्डका कप्तान कोएट्जरको क्वालिफायरमा महत्वपूर्ण भूमिका रहने सम्भावना धेरै रहेको छ । कोएट्जरले यसअघिका खेलहरूमा पनि थुप्रै उदाहरणीय प्रदर्शन देखाइसकेका छन् । ४३ एक दिवसीय खेलमा उनको ४ शतक, र १० अर्धशतक बनाएका छन् । उनको एभरेज ४३.०७ रहेको छ ।
सन् २०१५ को विश्वकप छनोटमा उनले बंगलादेश विरुद्ध १५६ रन बनाएका थिए । उनको यो स्कोर अहिलेसम्मकै उच्च हो । त्यस समयदेखि नै उनले आफ्नो प्रदर्शनलाई झनै निखार्दै आएका छन् ।
३३ वर्षीय उनी सहज रुपमा रन बनाउन सफल हुन्छन् । त्यसकारण विश्वकपमा आफ्नो टिमलाई प्रवेश गराउन उनका लागि निकै ठूलो अवसर बनेको छ ।

इभिन लेविस (वेष्ट इण्डिज): धेरैका आँखा क्रिस गेलतर्फ रहने भएपनि ओपनिङमा उनका ब्याटिङ पार्टनरको प्रभाव पनि उत्तिकै रहने पक्का छ । शक्तिशाली एवम् प्रभावकारी ब्याटिङले टि–ट्वान्टीमा लिविसलाई विश्वसामु आकर्षक ब्याट्सम्यानका रुपमा परिचित गराइसकेको छ । विश्वकप छनोटमा पनि उनको ब्याटिङ राम्रो चल्ने अनुमान छ ।
यदि उनले जिम्बावेमा आफ्नो प्रभाव छाड्ने हो भने उनका फ्यानहरुका लागि उत्सवको अवसर मिल्नेछ । त्यसैले उनी र गेल विरुद्ध बलिङ गर्नेका लागि खेल रोमाञ्चक नहुने बताइएको छ ।

मुजिब अर रहमान (अफगानिस्तान) : ‘रहस्यमय स्पीनर’ को नाम पाएका मुजिब अहिले चर्चाको शिखरमा छन् । सन्दीप जसरी नै उनले पनि आफ्नो उत्कृष्ट प्रदर्शनपछि आईपीएलमा खेल्ने मौका पाएका हुन् । यसअघि जिम्बावेमाथि चौथो एक दिवसीय खेलमा जित हासिल गरी पाँच विकेट लिएर गत चर्चामा आएका थिए ।
न्युजिल्याण्डमा भएको यु–१९ विश्वकपमा उनले आफ्नो अन्तर्राष्ट्रिय करिअरको सुरुवातमै उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यसकारण उनीबाट फेरिपनि त्यस्तै प्रदर्शनको अपेक्षा गरिएको छ ।

रायन टेन डोएसचेट (नेदरल्याण्ड): टेन डोएस्चेटको डचतर्फको आगमनले विश्वकपमा स्थान हासिल गर्ने सम्भावना वृद्धि भएको बताइन्छ । अनुभवी र मध्यम अर्डरका ब्याट्सम्यान टेन डोएसचेट आफ्नो टिमलाई जुनसुकै अवस्थाबाट पनि जित दिलाउन सक्ने खेलाडी हुन् ।
३३ एक दिवसीय खेल खेलेका उनले ५ शतक र ९ अर्धशतक बनाएका छन् । उनको एभरेज ६७ रहेको छ । ३७ वर्षका टेन डोएस्चेटको आफ्नो अन्तर्राष्ट्रिय करिअरको अन्तिम समय नजिकिँदै गर्दा डच टिमलाई विश्वकपसम्मको यात्रा पार गराउने जिम्मेवारी छ ।

सिकन्दर राजा (जिम्बावे): अफगानिस्तनसँग एक दिवसीय सिरिजमा ४–१ को पराजयपछि पनि आफ्नो प्रभाव जमाइ राख्न जिम्बावेले घरेलु मैदानको पूर्ण फाइदा उठाउनु पर्ने हुन्छ । यसमा सिकन्दर यस्ता एक खेलाडी हुन्, जसले ब्याट र बल दुवैमा ठूलो योगदान पुर्याउन सक्छन् ।
उनले ७४ बलमा ९२ रन बनाएपछि अफगानिस्तानसँगको सिरिजमा एक खेलमा मात्रै जिम्बावेले जित हात पारेको थियो । त्यसैले ३१ वर्षीय सिकन्दरको जोडदार प्रदर्शनले जिम्बावेलाई धेरै अगाडि पुर्याउन सक्ने बताइएको छ ।

असद भाला (पपुवा न्युगिनी): पपुवा न्युगिनीका यी भेट्रान खेलाडीले १३ वर्ष अगाडि राष्ट्रका लागि खेलेका थिए । फस्र्ट क्लासमा उनको उच्चस्तरीय औसत ६४ ले नै उनको सफलताबारे सबै बयान गर्ने गरेको छ । उनको अनुभवले मात्र पनि उनलाई प्रगतिशाली टिमको लिडर बन्न मद्दत गरेको बताइन्छ । देब्रे हाते ब्याट्सम्यान अलराउण्डर हुन् । उनले एक दिवसीय १४ खेलमा १४ विकेट लिएका छन् ।

तपाईको प्रतिक्रिया