राष्ट्रपतिको नाम टुंगो लगाउन एमालेले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं। निर्वाचन आयोगले फागुन २९ गते राष्ट्रपतिको निर्वाचन हुने मिति सार्वजनिक गरिसकेको छ। र, २३ गते मनोनयन दर्ता गर्ने कार्यक्रम छ। राष्ट्रपतिको निर्वाचनको मिति नजिकिँदै गर्दा भावी राष्ट्रपतिका विषयमा छलफल गर्न एमालेले मंगलबार स्थायी कमिटीको बैठक बोलाएको छ।

एमाले र माओवादी केन्द्रबीच भएको भागबण्डा अनुसार राष्ट्रपति एमालेको भागमा परेको छ भने उपराष्ट्रपति माओवादी केन्द्रको भागमा परेको छ। एमालेको भागमा परेको राष्ट्रपतिको नाम टुंग्याउन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले स्थायी कमिटीको बैठक बोलाएका हुन्।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफू  नै राष्ट्रपति दोहोरिने इच्छा व्यक्त गरेकी छन्। जसमा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि सकारात्मक छन्। तर, एमालेभित्र वरिष्ठ नेता झलनाथ खनाल राष्ट्रपतिका प्रवल दाबेदार हुन्।

उनले राष्ट्रपतिकालागि आफू इच्छुक रहेको बताउँदै आन्तरिक लविङमा समेत लागेका छन्। संघीय संसद र प्रदेश संसदका सांसद राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाता भएकाले त्यसकालागि वाम गठबन्धनसँग स्पष्ट बहुमत छ। २३ गते राष्ट्रपतिको मनोनयन भएकाले एमालेले २२ गते स्थायी कमिटी बैठक बोलाएको हो।

प्रतिनिधिसभामा इलामबाट विजयी खनालले राष्ट्रपतिमा सुरुदेखि नै इच्छा देखाउँदै आएका छन्। विगतमा पनि खनालले राष्ट्रपति पदका लागि इच्छा राखे पनि एमालेले भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकतामा सहमति भएलगत्तै बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिले दोहोरिने ‘लबिङ’ गरेका थिए। सामान्यतः राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल ५ वर्षको हुने भन्दै उनीहरूले आफूहरूको कार्यकाल २ वर्ष मात्र पुगेको भन्दै दोहोरिन ‘लबिङ’ गरेका थिए।

नयाँ संविधान जारी भएपछि राष्ट्रपतिमा भण्डारी र उपराष्ट्रपतिमा पुन निर्वाचित भएका थिए। राष्ट्रपति र उपराष्ट्रपति नयाँ बनाउँदा पुरानालाई पनि सुविधा दिनुपर्ने भएकाले बहालवालालाई नै पुनः निर्वाचित गर्ने पक्षमा गठबन्धनका नेताहरू उभिएको स्रोतले दाबी गर्यो।

तपाईको प्रतिक्रिया